

धुलिखेल घटनामा सांसदहरूको आक्रोश- त्यो हत्या हो, दुर्घटना होइन

काठमाडाैं- काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गर्दै गर्दा करेन्ट लागेर एक मजदुरको ज्यान गएको घटनाले संसदमा ध्यान खिचेको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उक्त घटनामा विद्युत प्राधिकरणको लापरबाही रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।
काभ्रेबाट निर्वाचित माओवादी सांसद सूर्यमान दोङले मृतक मजदुर उपेश परियारको ज्यान जानुमा प्राधिकरणको लापरबाही जिम्मेवार रहेको दाबी गरे। उनका अनुसार, विद्युत बन्द गरिने सूचना दिइएपनि काम भइरहेका बेला लाइन पुनः संचालनमा ल्याइएकाले दुर्घटना भएको हो। “विद्युत प्राधिकरणको गैरजिम्मेवारीले उपेश दमाईको मृत्यु भएको हो,” उनले भने, “घटनाको निष्पक्ष छानबिन हुनुपर्छ।”
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले घटनालाई हत्या भन्दै दोषीमाथि ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाउन माग गरे। “यो सामान्य दुर्घटना होइन,” उनले भने, “यसलाई हत्या मानी कारबाही होस्।”
शनिबार धुलिखेल नगरपालिका–७ मा रहेको जिल्ला प्रशासन कार्यालयअगाडिको ११ हजार भोल्टको हाइटेन्सन लाइनमा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो।

