राष्ट्रपतिको निर्देशनमा शिक्षामन्त्री शताब्दी पुरुष जोशी निवासमा


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ मंगलवार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकोे निजी निवासमा पुगेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उनका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गरेको भेटघाटका क्रममा बताए ।

‘जीवित इतिहास तपाईंका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ । मुलुकको जुनसुकै स्थानमा तपाईं जहाँ विद्यालय खोलियोस् भन्ने चाहनुहुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौं । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्ने छ,’ उनले भने ।

जोशीको नामका खोलिने विद्यालय दरबार हाइस्कूल जस्तो हुने श्रेष्ठले जानकारी गराए । शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताए । जोशीको रेखदेख गर्न २ कुरुवा सरकारले दिने घोषणा गरिसकेको उनको भनाइ थियो ।

जोशीले राष्ट्रपतिले आफूलाई सम्झेर भेट्न पठाएकोमा हर्षित भएको बताए । उनले भने, ‘मुलुकमा उत्पादन भएका जति पनि लेखक, कलाकारहरू छन् र थिए, तीमध्ये लामो आयू बाँँच्ने म नै हुँ । राष्ट्रपतिले आफू जीवित छँदै आफ्नो नामको हुलाक टिकट छाप्न टाँचा लगाउँदा ज्यादै खुशी लाग्यो । मुलुकको पिछडिएको स्थान जहाँ बालबालिका अध्ययन गर्ने अवसरबाट वञ्चित भएका छन् त्यहाँ विद्यालय खोलियोस् भन्ने म चाहन्छु ।’

ललितपुर महानगरपालिकाले केही समयअघि आफ्नो नाममा चाँदी सिक्का निकालेर प्रयोगमा ल्याउँदा पनि ज्यादै खुशी लागेको जोशीले बताए । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको महान् व्यक्तित्व जोशीको नाममा आफूहरूले ललितपुरको पुल्चोक हुँदै मंगलबजार अनि सुन्धारा र त्यसपछि ग्वार्को जाने सडकलाई सत्यमोहन जोशी मार्ग नामकरण गरिसकेको बताए ।

कार्यक्रममा जोशीको नामका खोलिने विद्यालयमा गुणस्तरीय शिक्षकका साथै गुणस्तरीय शिक्षा प्रदान गरिने बताइएको छ । शताब्दी पुरुष जोशी आउँदो वैशाख ३० गतेदेखि १०१ वर्ष पूरा भएर १०२ वर्षमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया