‘अप्रेशन सिन्दूर’मा मसूद अजहरको परिवारका १० सदस्य मारिए


भारत- भारतको सशस्त्र सेनाले हालै सञ्चालन गरेको ‘अप्रेशन सिन्दू’मा आतंककारी संगठन जैश ए मोहम्मदका प्रमुख मसूद अजहरका १० जना परिवार सदस्यसहित दर्जनौँ आतंककारी मारिएका छन्। भारतीय मिडिया रिपोर्टहरू अनुसार पाकिस्तानको बहावलपुरमा रहेका आतंकवादी ठेगानाहरूमा गरिएका प्रहारमा अजहरका नातेदारहरू र नजिकका सहयोगीहरूको ज्यान गएको हो।

मसूद अजहरले आफैँ बयान जारी गर्दै हमलामा आफ्नी दिदी, दिदीको श्रीमान्, भान्जा, भान्जी, भतिजाहरू र पाँच जना नाबालक बच्चाहरूको मृत्यु भएको पुष्टि गरेका छन्। यस्तै, उनका आमासहित चार जना नजिकका सहयोगीहरू पनि मारिएको जनाइएको छ।

यस हमलामा आतंककारी कारी मोहम्मद इकबालको पनि मृत्यु भएको छ। इकबाल कोटली क्षेत्रमा चलाइने आतंकवादी प्रशिक्षण शिविरहरूको कमाण्डर थिए। उनीसहित थप १० जना आतंककारी मारिएको जनाइएको छ।

यसैगरी, ‘अप्रेशन सिन्दूर’मा बिलाल आतंकी क्याम्पका प्रमुख याकूब मुगलको पनि मृत्यु भएको छ। भारतीय सेनाले पाकिस्तानको १०० किलोमिटर भित्र छिरेर २५ मिनेटभित्र ९ वटा आतंकवादी शिविरहरू ध्वस्त पारेको दाबी गरिएको छ।

जैश ए मोहम्मदको मुख्यालय बहावलपुरको बाहिरी क्षेत्रमा अवस्थित मरकज सुभान अल्लाहमा रहेको छ, जुन १५ एकडमा फैलिएको मुख्य आतंकी प्रशिक्षण केन्द्र हो।

यही स्थानबाट २०१९ मा जम्मु-कश्मीरको पुलवामा आक्रमणको योजना बनाइएको थियो। हाल पाकिस्तानी सेनाले मसूद अजहरलाई भारतको हमलाबाट जोगाउन अज्ञात स्थानमा लुकाइराखेको जनाइएको छ।

प्रतिक्रिया