

गुल्मीकी बालिकाको कारुणिक व्यथाः ‘बलात्कारी’ बाबुबाट जन्मियो बच्चा

काठमाडौं– साँघुरो कोठामा ५ जनाको परिवार बस्छ। अर्कैको घर, भान्छा र सुत्ने कोठा एउटै। बाबुआमा र तीन सन्तान बस्दै आएका थिए। हेर्दा साधारण देखिए पनि त्यस कोठाभित्र एउटा गहिरो व्यथा अनेक रात भोगीरहेकी थिइन्, एक बालिका।
बाबुले दिनहुँ बालिकालाई बलात्कार गर्थे, आमालाई सुइँको समेत नहुने। आमा मजदुरीमा जान्थिन्, बाबु धामी झाँक्रीको पेशा गर्थे तर कमाईको सबै रकम जाँड रक्सीमा खर्च गर्दथे। उनै यौन पिपासु बाबुको शिकार बनिरहेकी थिइन्, बालिका।
शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा बाबुद्वारा १४ वर्षीया छोरी पटक–पटकको बलात्कारपछि गर्भवती भएको समाचार बाहिर आएपछि प्रहरीले पक्राउ गर्यो।
आफ्नैै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी किशोरीले छोरा जन्माइसकेको प्रहरीले जनाएको छ। पीडित बालिकाकै आमाले दिएको जाहेरीका अनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई शुक्रबार नै नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपाल चन्द्र भट्टराई बताउँछन्।
एकान्तमा रहेको उक्त घरमा कसैले चियोचर्चो गर्दैन थिए। जब समाचार बाहिरियो मानिसहरूले चासो दिन थाले।
गर्मीयाममा पनि बिहानबेलुका न्यानो कपडा लगाउनुपर्ने तम्घासको चिसो मौसम। त्यसमाथि रेसुङ्गा लेकको काखमा ओसेप लाग्ने उनीहरु बस्ने सानो झुपडी। बालिका र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
पछिल्लो समय पीडित बालिकाको हातखुट्टा पुरै सुनिएको रेसुङ्गा नगरपालिका–७ का वडाध्यक्ष मोहन पाण्डेले जानकारी दिए।
‘गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी छोरीको स्याहारसुसारमा भन्दा आमालाई मजदुरीको चटारोले छोडेको छैन’, पाण्डेले भने, ‘अन्य २ स–साना छोराछोरी छन्। मजदुरी नगरे बिहान बेलुका के खाने भन्ने हुन्छ।’
पीडित बालिकाको आमाको मुहार आफ्नैै श्रीमानले छोरीलाई बलात्कार गरेको पीडाले मलिन बनेको बडाध्यक्ष पाण्डेले बताए। ‘छोरीमाथि श्रीमान्ले पटक–पटक बलात्कार गर्दा तपाईले किन निगरानी गर्नुभएन? भन्ने प्रश्नमा उनको एकमात्र जवाफ आउँछ, ‘खै मैले थाहा नै पाइन,’ वडाध्यक्ष पाण्डेले अनलाइनन्यूजसँग भने।
त्यसपछि पीडित बालिकालाई सोध्दा ‘१३ बर्षको उमेरदेखि बाबुले सधै कुकर्म गर्दै आउनुभएको हो। उहाँ पल्लो पिस्तरामा सुत्नुहुन्थ्यो। आमा निदाएपछि मेरो विस्तरामा आउनुहुन्थ्यो। कसैलाई भनिस् भने मारेर फाल्दिन्छु। पुलिसकहाँ उजुरी गरे २–३ दिनमा निस्किन्छु र सबलाई मार्दिन्छु भनेर डर देखाएपछि कसैलाई नभनेको’ बताउने गरेको वडाध्यक्षले सुनाए।
पीडित बालिकाले आफू गर्भवती भएको थाहा नभएको प्रहरीसमक्ष बयान दिएकी छिन्। केही दिनअघि स्कुलमा औषधीको चक्की खान दिएपछि हातखुट्टा एक्कासी सुनिन्न थालेपछि अस्पताल गएर चकजाँच गर्दा मात्र थाहा भएको पीडित बालिकाले बताएकी छन्।
पीडित बालिका रेसुङ्गास्थित उपल्लो तम्घास माविमा कक्षा ६ मा अध्ययनरत छिन्।
पीडक बाग्लुङबाट आएर गुल्मीको तम्घास आसपासकै एक महिलालाई विवाह गरी बसेको खुलेको छ। बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीमा बस्दै आएका थिए।
स्थानीयबासी हिमबहादुर भलामीकाअनुसार धामी काम गर्न उनी प्राय साँझको समयमा हिँड्थे र घरमा पनि साँझमा बोलाउँथे। गाँजाको लतमा लागेका युवाहरु उनको घरमा सँधै आउने गरेको स्थानीयहरु बताउँछन्।
आफूले पनि गाँजा खाने र युवाहरूलाई पनि दिने भएकोले स्थानीयले घृणा गरेर त्यस घरमा हिमचिम गर्ने गर्दैनथे ।
१० बर्षअघि गाँजा मुद्दामा पक्राउ परेर केही समयअघि मात्र जेलबाट छुटेका हुन् ६५ बर्षीय पीडक।
आरोप स्वीकारेका छैनन्
पीडक बाबु अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भट्टराईले आरोपीले अहिलेसम्म बलात्कार गरेको भनेर स्वीकार नगरेको जानकारी दिए।
‘घटनामा अरूको सम्भावना देखिँदैन्। श्रीमतीले नै किटानी जाहेरी दिएपछि मुख्य व्यक्ति उहाँ नै हो,’ भट्टराईले भने।
जवरजस्ती करणी र हाडनाता मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेको एसपी भट्टराईले बताए। घटना बाहिर आएपछि बागलुङ भाग्न खोज्दा प्रहरीले उनलाई पक्रेको हो। उनको स्वभाव पहिलेदेखि नै खराब रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
निज बाबुको बच्चा हो कि होइन भनेर पुष्टि गर्न डीएनए परीक्षणका लागि रगत संकलन गरेर पठाइएको एसपी भट्टराईले बताए। उक्त बच्चा कानूनी प्रक्रिया पूरा गरेर सन्तानविहीनलाई दिने तयारी भएको प्रहरीले जनाएको छ।
उपचारमा आर्थिक अभाव
पीडित बालिकालाई उपचारको खाँचो छ। तर घरमा खाने खर्च समेत छैन। पीडित बालिकाकी आमाले छोरीको उपचार गर्ने कुनै उपाय नभएको बताइन्।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, ७ का वडाध्यक्ष पाण्डे र ९ का वडाध्यक्ष नारायण बराल पहल गरिरहेका छन्।

