सर्लाहीमा गुडिरहेको कारमा आगलागी


सर्लाही-  जिल्लाको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा एक कारमा आइतबार अचानक आगलागी भएको छ । नयाँ वर्षको अवसरमा ताल अवलोकनका लागि आएका सर्वसाधारण चढेको ना. ५ च २३३२ नम्बरको कारमा अचानक आगो लागेको हो ।

कारमा आगलागी सुरु हुनासाथ भित्र रहेका व्यक्तिहरूले तत्काल बाहिर निस्किएर ज्यान जोगाएका थिए ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाउन सफल भएको हो । हरिवन नगरपालिकाबाट दमकल बोलाइए पनि आगो नियन्त्रणमा आइसकेकाले दमकललाई नयाँरोडबाटै फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी नायब निरीक्षक सुवास यादवले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीले कारको अगाडिको भाग, इन्जिन र सिसामा क्षति पुगेको छ । क्षतिग्रस्त कारलाई हाल तालको किनारामा राखिएको छ ।

हालसम्म कारमा आफैँसाथ आगलागी हुनुको कारण खुल्न सकेको छैन र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया