

दाउन्नेमा सडक एकतर्फी खुल्याे, तर अझै जाम

काठमाडाैं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिए ।
अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा आज लामो समयदेखि गाडी रोकिएका कारण दिउँसो काम रोकेरै गाडी चलाएको उनले बताए ।
दाउन्नेमा चिप्लो बाटोका कारण गएरातिदेखि गाडी चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् ।
बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । दाउन्नेदेखि पश्चिम झन्डै चोरमारासम्म २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको छ । दुई दिन सिमसिम पानी पर्दैमा दाउन्नेमा हिलोले बिचल्ली भएपछि वर्षायाममा अवस्था के होला भन्ने चिन्ता बढेको छ ।
नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रका अनुसार दाउन्ने खण्डका माटोको बनोटका कारण सुक्खायाममा धूलो थुप्रिने र पानी पर्नेबित्तिकै हिलो हुन्छ । गाडी त्यही दबदबे हिलोमा गाडिन पुग्छन् । १३ किलोमिटर खण्डमा यस्तो जटिलता रहेको उनले बताए । याे खण्डमा ग्राभेल गर्ने काम भइरहेकोले वर्षायाममा केही सहज हुने आशा रहेको उनको भनाइ छ ।

