आइपिएलः पञ्जाबद्वारा गुजरात पराजित, आज राजस्थान र कोलकता भिड्ने


काठमाडौं – पञ्जाबले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।

श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराएको हाे । २ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको क्षतिमा २ सय ३२ रनमा समेटियो।

टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे।

१४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएर गिल पहिलो विकेटका रुपमा आउट भए। सुदर्शन र तेस्रो नम्बरमा ब्याटिङ गरेका जोस बटलरले अर्धशतक बनाए। उनीहरुले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे।

सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए। बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे।

सेर्फाने रुथरफोर्ड २८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो।

पञ्जाबका लागि कप्तान श्रेयसले सर्वाधिक ९७ रन जोडे। उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे। आइपिएल इतिहासको आफ्नो पहिलो शतकबाट श्रेयस ३ रन टाढा चुके।

पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग मिलेर नट आउट ८१ रनको साझेदारी गरे। शंशाक १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे। मार्कस् स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए।

यसै खेलमा आइपिएल डेब्यु गरेका पञ्जाबका ओपनर प्रियान्स आर्य २३ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४७ रनमा आउट भए। ग्लेन म्याक्सवेल पहिलो बलमा नै आउट हुँदा अजमतुल्लाह उमरजाइले १६ रन जोडे।गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए।

प्रतियोगिता अन्तरगत आज राजस्थान रोयल्स र कोलकता नाइटराइडर्सबीच खेल हुनेछ।

 

प्रतिक्रिया