इजरायलबाट बाँचेर आएकी हिमश्वेता २२ वर्षमै बनिन् कृषि अधिकृत
काठमाडाैं- २२ वर्षीया हिमश्वेता भट्ट । बैतडीको दशरथचन्द नगरपालिका- ५ स्थायी घर भएकी उनी कञ्चनपुरस्थित महेन्द्रनगरमा रहेकाे मामाघरमा बसेर अध्ययन गरिन् । उनका बुबा थिरेन्द्र कञ्चनपुरकै बेदकोट नगरपालिकामा निमावि तहका शिक्षक हुन् भने आमा गीतादेवी निजी विद्यालयमा पढाउँछिन् । पढाइमा सानैदेखि अब्बल रहेकी उनले महेन्द्रनगरकै रेडियन्ट उच्च माविबाट आईएस्सी गरेकी थिइन् ।
त्यसपछि चितवनकाे कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक तह पढिन् । कृषि संकायमा स्नातक तह अध्ययन गरिरहेकै बेला उनी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ०८० भदौमा इजरायल पुगेको थिइन् । तर, एक महिना नबित्दै नेपाली विद्यार्थी भएकै क्षेत्रमा हमास समूहले आक्रमण गरेको थियो । जसमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी विपिन जोशी अझै बेपत्ता छन् । त्यसपछि सबै विद्यार्थी फर्किन थालेपछि हिमश्वेता पनि घर फर्किएकी थिइन् । उनले घर फर्केपछि नै अनलाइनबाट इन्टर्नसिप र थेसिस पूरा गरिन् ।
इजरायलबाट फर्केर उनले लाेकसेवाकाे तयारी गरेकी थिइन् । र, कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल भइन् । उनी बागमती प्रदेश लोक सेवा आयोगले लिएको कृषि अधिकृत सातौँ तहको परीक्षामा पहिलोपटक सहभागी भएकी थिइन् ।
‘उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ । पहिलो प्रयासमै लोक सेवा पास भइयो । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ’ उनले भनिन् । आयोग पास भएपछि हिमश्वेता मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छिन् ।