भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ को मृत्यु, ३० घाइते


राजस्थान – भारतको राजस्थान राज्यमा बस कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा मंगलबार दुर्घटना भएको हो। प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो ।

‘स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किँदा १२ जनाको ज्यान गएको छ’, वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले भने, ‘घाइते केहीलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ।’

दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्‍याएका थिए।

‘यहाँ कुल ३७ जना बिरामी भर्ना भएका थिए । मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सातजनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ’, एसके अस्पताल सिकरका सुपरिटेन्डेन्ट डा. महेन्द्र खिचडले भने। दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ।

भारतमा सडक दुर्घटना सामान्य भएका छन् । खराब सडक अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना हुन्छ।

 

प्रतिक्रिया