भारत–नेपालबीचको खेलपछि साम्बाले किन चुमिन् भारतीय फुटबलर बालाको चरण ?
काठमाडाैं- आइतबार बेलुका साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच सेमिफाइनल खेल भएको थियाे ।
सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम थिएन । खेलमा प्रतिस्पर्धा, तनाव, विवादास्पद अवस्था र रोमाञ्चकारी क्षण देखिएकाे थियाे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतकी संगीता बासफोरेले ७१ औं मिनेटमा गोल गरी अग्रता दिलाएकी थिइन् । त्यसलगत्तै नेपालले गोल गरेपनि रेफ्रीले मान्यता नदिएपछि खेल तनावग्रस्त बन्यो । रेफ्रीले खेल सुरु भएको संकेत दिने सिठी बजाएपछि साम्बाले दिएको पासमा प्रिती राईले खाली पोस्टमा गोल गरेकी थिइन् । तर, गोल सेलिब्रेसनका लागि मैदान बाहिर पुगेका भारतीय खेलाडी सम्हालिन नपाउँदै नेपालले गरेको गोलले मान्यता पाएन ।
भारतीय खेलाडीहरुले विरोध गरेपछि नेपालको गोललाई मान्यता दिइनन् । यता नेपाली खेलाडीहरुले रेफ्रीको निर्णय स्वीकार गरेनन् । साेही विवादका कारण १ घण्टा ६ मिनेट खेल अवरुद्ध भयो ।
अन्ततः खेल ६३ औं मिनेटबाट फेरि खेल सुरु भयो । खेल सुरु भएलगत्तै सावित्रा भण्डारी ‘साम्बा’ले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याइन् । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे । त्यसपछि नेपाल बिजेता बनेकाे थियाे ।
खेल सकिएपछि नेपालका अन्य खेलाडीहरू सेलीब्रेसन गर्न मैदानमा घुमिरहेका थिए । त्यहिबेला गोल मेसिन नामले चर्चित ‘साम्बा’ भने हार व्यहाेरेकाे भारतीय टिम भेला भएको स्थानमा पुगेकी थिइन् । त्यहाँ पुगेर उनले भारतीय खेलाडीहरूलाई अंगालो हाल्दै सहानुभूति दिइरहेकी थिइन् । सोही क्रममा उनले भारतीय महिला फुटबलर बाला देवीको भने चरण चुमेकी थिइन् । त्यसपछि बालाले उनलाई उठाएर अंगालो हालेकी थिइन् ।
खेलपछि सोही क्षण सम्झिँदै साम्बाले बाला आफ्नो आइडल भएकाले चरण चुमेको प्रतिक्रिया दिएकी थिइन् । ‘उहाँसँग प्रतिद्वन्दी भएर धेरैपटक खेलियो । म उहाँलाई धेरै सम्मान गर्छु । उहाँ मेरो आइडल हो । त्यसैले मेलै उहाँको दाँया खुट्टा चुमेको हुँ’ साम्बाले भनेकी थिइन् ।
को हुन् बाला ?
भारतको मणीपुरकी बाला देवीलाई भारतीय महिला फुटबलको ‘गोल मेसिन’ भनिन्छ । बाला देवीले नेपाल जारी साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो भारतीय महिला बनिसकेकी छिन् ।
उमेरले ३४ वर्ष पुगेकी उनी सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो भारतीय महिला फुटबल खेलाडी बनेकी हुन् । आफ्नो फुटबल करियरलाई सन्तुलनमा राख्दै, बाला देवी मणीपुरमा प्रहरी निरीक्षकको रूपमा पनि काम गर्छिन् ।