ओडिशास्थित तटीय क्षेत्रमा चक्रवाती आँधी ‘दाना’को प्रभाव सुरू, हवाई र रेल सेवा बन्द
काठमाडाैं- भारतको ओडिशास्थित तटीय क्षेत्रमा चक्रवाती आँधी ‘दाना’को प्रभाव शुरू भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) अधिकारीका अनुसार यो प्रक्रिया आजसम्म जारी रहने सम्भावना छ ।
आँधी पछिल्लो ६ घण्टामा पन्ध्र किलोमिटर प्रति घण्टाको गतिमा उत्तर-उत्तरपश्चिममा सरेको थियो । त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धम्राको बीचमा पुगेको हो । यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा थियो।
ओडिशाको लगभग आधा जनसंख्यामा दानाको प्रभाव दिखएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ओडिशाका १४ जिल्लाका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रकोपले गम्भीर रूप लिने सम्भावनालाई मध्यनजर गर्दै दुवै प्रदेशका सरकारी संयन्त्र उच्च सतर्कतामा छ। ओडिशाका मुख्यमन्त्री मोहन माझीले बिहीबार आफ्नो सरकार कुनै पनि परिस्थितिसँग जुध्न पूर्ण रूपमा तयार रहेको र बाढीको सम्भावित प्रभावलाई कम गर्न पर्याप्त उपायहरू अपनाइएको बताए ।
ओडिशा सरकारले चक्रवात प्रभावित क्षेत्रहरूबाट विस्थापित मानिसहरूलाई घर बनाउन ७ हजार २०० चक्रवात केन्द्रहरू सिर्जना गरेको छ । मुख्यमन्त्री मोहन चरण माझीले भने कि प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आउँदै गरेको आँधीको सामना गर्न ओडिशा सरकारको तयारीको बारेमा जानकारी लिएका छन् ।
आँधीका कारण ५ लाख ८४ हजार ८८८ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबार बिहानसम्म यो संख्या ६ लाख नाघेको माझीले बताए । अहिलेसम्म तल्लो तटीय जिल्लाका उच्च जोखिम क्षेत्रबाट ५ लाख ८४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको माझीले बताए ।
कोलकाताको नेता सुभाषचन्द्र बोस एयरपोर्टमा हवाई सेवा अवरुद्ध भएको छ । शहरले वर्षा र तेज हावाको अनुभव गरिरहेको छ । भुवनेश्वरको बिजु पटनायक विमानस्थल बन्द गरिएको छ । भुवनेश्वरको अम्बेडकर बस स्ट्यान्डमा सवारी आवागमन रोकिएको छ ।
भारतीय रेलवेले यस क्षेत्रमा चल्ने करिब १५० रेलहरू रद्द गरेको छ। दुवै राज्यका प्रमुख स्टेशनहरूमा यात्रुहरूको भीड लागेको छ ।
पश्चिम बंगाल पनि उच्च सतर्कतामा छ । राज्यका धेरै तटीय जिल्लाहरूबाट हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
राज्यका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित दानाबाट प्रभावित जिल्लाको अवस्थाको अनुगमन गर्ने जिम्मेवारी सचिव तहका अधिकारीहरूलाई दिएकी छन् । यस क्षेत्रमा धेरै नियन्त्रण कक्षहरू खोलिएका छन् ।
ओडिशा र पश्चिम बंगालको दाना प्रभावित क्षेत्रमा अक्टोबर २६ सम्म स्कूल र कलेज बन्द राख्न निर्देशन दिइएको छ।
दानाका कारण, ओडिशा सिविल सेवा परीक्षा २०२३-२४ को मिति विस्तार गरिएको छ। यसअघि यो परीक्षा कात्तिक २७ गते हुने भएको थियो । तर अब परीक्षाको नयाँ मिति घोषणा गरिने भएको छ ।
चक्रवात दाना पछिल्ला दुई महिनामा भारतीय तटमा आएको दोस्रो चक्रवात हो । यसअघि अगस्टको अन्त्यतिर ‘आसना’ नामक चक्रवातले प्रायद्वीपलाई असर गरेको थियो । कतारले यो आँधीको नाम रोजेको छ । चक्रवातका लागि बनेको मापदण्डअनुसार यो नाम दिइएको हो । दाना शब्द अरबी भाषाबाट लिइएको हो । यसको अर्थ ‘उदारता’ हो।