ओलीले बोलाएको संसदीय दल बैठकअघि खनाल-नेपाल समूहले डाके सांसदहरूको भेला


काठमाडौँ – नेकपा एमालेभित्र समानान्तर गतिविधिको अभ्यास गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले शुक्रवार सांसदहरूको भेला बोलाएका छन् । खनाल–नेपाल समूहले आज (शुक्रबार) दिउँसो १ बजे सांसदहरूको भेला बोलाएको हो

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो बोलाएको संसदीय दलको बैठकमा जाने नजाने भन्नेबारेमा छलफल हुने खनाल–नेपाल समूहका एक सांसदले बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । एमालेका मुख्य सचेतक विशाल भट्टराईले आगामी बजेटमा विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा दलका सांसदहरुबाट सुझाव लिने, प्रतिनिधिसभा बैठकलाई कसरी प्रभावकारी बनाउने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा बैठकमा छलफल हुने बताए ।

यसअघि प्रधानमन्त्रीले बालुवाटारस्थित निवासमा बैठक बोलाएको भन्दै खनाल–नेपाल समूहले बहिष्कार गरेको थियो । शुक्रबारको बैठकमा जाने नजाने भन्नेबारेमा खनाल–नेपाल समूहले सांसदहरुको भेलापछि निर्णय गर्ने भएको छ । समूहमा रहेका अधिकांश सांसदहरुले भने बैठकमा गएर ओलीको कदमको प्रतिरोध गर्नुपर्ने शीर्ष नेताहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया