फेरि हार्यो क्यानडासँग नेपाल


काठमाडौं – त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु क्यानडासँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ।

क्यानडाको किंग सिटीमा गएराति भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३३ रन जोडे। कप्तान निकोलस किर्तनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए।

रविन्द्रपाल सिंहले २१ बलमा नट आउट २०, नवनित धालिवालाले १२ तथा दिलप्रित बाज्वाले २५ रन बनाए। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो।

राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमा समेटियो।

नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे। पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे। आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए।

गुलशन झाले बलमा चौका र छक्काको सहयोगमा २३ रन बनाए। एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो।

क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १ विकेट लिए।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो। नेपालले चौथो खेलमा आजै ओमानसँग खेल्नेछ।

 

प्रतिक्रिया