बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्याे


काठमाडौं- असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन् ।

वर्षाबाट २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिए। त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको छ ।

भौतिक क्षतितर्फ खानेपानीमा ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

विपद्पछि खोजी कार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको छ। राहत तथा उद्धारलाई तिव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया