झ्याप्ले खोलामा पुरियो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना


बझाङ-  बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नवीन सिंह कलिलै उमेरमा अस्ताएका छन् ।

रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो । अन्तिम वर्षको पढाइ सकेपछि डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए । नवीनका आफन्त सुन्दर सिंहका अनुसार आइतबार साँझ उ चढेको गाडी पहिरोमा पुरिएको हो। पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए ।

मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ । बीएस्सीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले परिवारमा मात्रै नभएर सिंगै गाउँलाई क्षति पुगेको कैलाशपति आधारभूत विद्यालयका शिक्षक गोपाल विष्टले बताए ।

२५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगेका छन् ।

प्रतिक्रिया