उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब निकासा


काठमाडौं – सरकारले दूध र उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया शुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध र उखु किसानका लागि झण्डै दुई अर्ब रुपैयाँ निकासा भएको जनाएका छन् ।

दूध किसानहरूको बक्यौता रकम तिर्नका लागि शुक्रबार मात्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने आठ जिल्लाका उखु किसानले पाउनु पर्ने एक अर्ब ४५ करोड बढी रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको छ ।

त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबार नै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको हो । कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाइएको छ ।

सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई रकम बाँडफाँट स्वीकृत पाएको हो । उखु किसानले अनुदान बापत पाउनु पर्ने रकम दशैं अघि नै पाउने बताइएको छ ।

प्रतिक्रिया