मनसुन सक्रिय भएसँगै २७ जिल्ला ‘रेडजाेन’मा


काठमाडाैं- आजदेखि मनसुन पुनः सक्रिय भएको छ । मनसुनको सक्रियताका कारण देशभर वर्षा हुने छ ।

केही दिनयता पानी नपर्दा चर्को घाम सहेकाहरुलाई वर्षाले राहत दिने छ । तर भित्राउन तयार बालीनालीलाई र अन्य कृषिकर्ममा भने यसले असर पुर्‍याउने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो अवधिमा महाशाखाले पाँच प्रदेशका २७ जिल्लाहरू उच्च जोखिममा रहेको औंल्याएको छ। कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकीका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रूकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके उच्च जोखिममा छन्।

त्यस्तै कर्णालीका सुर्खेत, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेख तथा सुदूरश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी उच्च जोखिममा छन्।

मधेस र बागमती प्रदेशमा भने उच्च जोखिम नरहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका १२ जिल्ला, मधेसका चार जिल्ला, बागमतीका १३, गण्डकीका तीनवटा जिल्ला, लुम्बिनीका तीनवटा, कर्णाली दुई र सुदूरपश्चिमका पाँच जिल्ला मध्यम जोखिममा छन् ।

प्रतिक्रिया