बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते


बागलुङ – बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौँ महानगरपालिका-१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन-४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन-१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका-१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् । घरले पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रतिक्रिया