महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, अर्का बेपत्ता


बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् ।

महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए।

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइ दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ ।

दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको वहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया