घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


पोखरा- पोखरामा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । सामान्य घरायसी विवाद बढ्दै गएपछि अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ बगालेटोल बस्ने पोखरा ८ कुँवर टोलमा जहरसिंह कुँवरले ४० वर्षीय राधिका कुँवरलाई हत्या गरेका हुन् ।

मध्याह्न १२ बजेतिर राधिका चिच्याएको आवाज आएपछि घरबेटी गएर हेर्दा जहरसिंहले श्रीमतीलाई खुकुरी प्रहार गरिरहेको देखेका थिए । घरबेटीले खबर गरेपछि तत्कालै वडा प्रहरी कार्यालय बैदामको टोलीले जहरसिंहलाई पक्राउ गरी राधिकालाई अस्पताल पुर्‍याएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले १२:४४ बजे मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताए ।

जहरसिंहलाई खुकुरी सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया