चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि


काठमाडौं – सरकारले चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा आउँदो असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ ।

खाद्य कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि कम्पनीले बिक्री गर्ने चामलको मूल्यमा प्रतिकेजी पाँच रुपियाँ छुट गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हालै गरेको बजार विश्लेषणमा चामलको मूल्य बजारमा भन्दा सस्तो छ । त्यसमा पनि सहुलियत पसल सञ्चालन भएपछि थप पाँच रुपियाँ छुट दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया