रसिया जान लागेका विद्यार्थीलाई अभिभावकको प्रतिबद्धताविना अनुमति पत्र नदिइने


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिबद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छन् ।

बिहीबार सिंहदरवारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रसियामा युद्ध भइरहेकाले अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताएकी हुन् ।

रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो । सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो ।

मन्त्री भट्टराईले रसियामा दुईदेखि ६ बर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको धारणा राखिन् । उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन् । अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनको भनाई छ ।

अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरूको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनल बताए । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए । मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा पढ्नका लागि ४० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

प्रतिक्रिया