निगमका अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले पनि सोध्यो स्पष्टीकरण, आउला त राजीनामा ?


काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ११ बुँदे स्पष्टीकरण सोधेकै दिनमा बहुमत सञ्चालकहरुले पनि स्पष्टीकरण सोधेका छन् ।

सञ्चालक समिति उपाध्यक्ष, सदस्यहरु किशोर प्रधान, अमृतमान श्रेष्ठ र सुधिर शम्शेर राईले ३ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

दुइटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको हो। स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको आरोप लगाइएको छ ।

‘निगमको सञ्चालक समितिले सोधेको स्पष्टीकरण हाम्रो (कार्यकारी अध्यक्ष) ज्यूको कार्यालयमा आइपुगेको छ,’ स्रोतले भन्यो ।

स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको, राजनीतिक फेरो समातेर ०७८ कात्तिकदेखि निगमको कार्यकारी अध्यक्षमा आइसकेपछि उनकै कारण घाटा वृद्धि हुँदै ४५ अर्ब ऋण व्ययभार ५३ अर्ब रुपैयाँ पुगेको विषयमा जवाफ मागिएको छ।

भदौ १३ गते सञ्चालक समितिमा दर्ता गरेको स्पष्टीकरणको विस्तृत जवाफ अर्को बैठकमा आफैं हस्ताक्षर गरेर बुझाउन कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिइएको छ।

निगमका सञ्चालकरुहरुले कार्यकारी अध्यक्षमाथि नै स्पष्टीकरण सोधेको यो दोस्रो घटना हो । यसअघि २०७६ सालमा तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेललाई सञ्चालकहरुले स्पष्टीकरण सोधेका थिए । सञ्चालकहरुको स्पष्टीकरणपछि खरेलले राजीनामा दिएका थिए ।

प्रतिक्रिया