जहाज मर्मत गर्न ‘सुपर ग्लू’ प्रयोग गर्ने निगमका तीन इन्जिनियर निलम्बनमा


काठमाडौं- नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी मर्मतमा कमजोरी गर्ने तीन जना इन्जिनियर निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले म्यानुफ्याक्चर कम्पनीको सिफारिस बिनाका पाटपूर्जा प्रयोग गरेको र जहाज मर्मतमा कमजोरी गरेको भन्दै निगमका तीन जना इन्जिनियरलाई निलम्बन गरेको हो ।

निगमको ए ३२० नामक ९-एन एकेडब्लु कलसाइनको जहाज भदौ ८ गते शनिबार नै समस्या आएको थियो । जहाजको हाइड्रोलिक सिस्टमको एउटा उपकरण निकालेर नयाँ हाल्नुपर्ने थियो । तर खोल्नुपर्ने एउटाको ठाउँमा अर्को खोलिएको र एकपटक खोलेको आइसिबी पुनः राख्न नमिल्ने अवस्थामा उनीहरूले हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको आरोप लागेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार तीनै जना इन्जिनियरलाई अर्को सूचना जारी नभएसम्म निलम्बन गरिएको छ।

न्यारोबडी जहाज मर्मतमा गम्भीर कमजोरी भएको गुनासो आएपछि प्राधिकरणले गत मंगलबार निरीक्षण गरेको थियो ।  बिहीबार प्राधिकरणकै इन्जिनियरहरूको रोहबरमा मर्मत गरेर ‘ह्यान्डलिङ फ्लाइट’ गरेको थियो । उक्त उडान सफल भएसँगै अहिले न्यारोबडी नियमित उडानमा छ ।

 

प्रतिक्रिया