मुख्यसचिव बन्दै एकनारायण अर्याल


काठमाडौं – नयाँ मुख्यसचिवमा एकनारायण अर्यालले बाजी मार्ने भएका छन् ।

वर्तमान मुख्यसचिव लीलादेवी गड्तौला शनिबारदेखि अवकाशमा जाने भएपछि सरकारले आज साँझ ५ बजे बस्ने मन्त्रीपरिषद् बैठकबाट हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार नयाँ मुख्यसचिवको दौडमा ६ जना सचिव रहे पनि अन्य सचिवहरु भन्दा अर्याल प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहनु र विगतमा जिम्मेवारपूर्ण निकायहरूमा कार्यक्षमता देखाइसकेका कारण उनी मुख्यसचिव बन्ने भएका हुन् ।

काठमाडौं जस्तो संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका अर्यालले त्यसका अलवा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काम गरिसकेका छन् । उनी नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूत पनि बनिसकेका हुन् ।

नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए । सुधारवादी प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमतामा पनि अब्बल सचिवका रूपमा चिनिन्छन् ।

राजनीतिक नेतृत्वसँग स्पष्ट बोल्न सक्ने र कर्मचारीका विषयमा खुलेर राय राख्न सक्ने भएकाले निजामति क्षेत्रका नेतृत्वका रूपमा अर्याल रहेमा सरकारका साथै निजामति प्रशासनलाई समेत सहज हुने कर्मचारीहरू नै बताउँछन् ।

प्रतिक्रिया