साफ यू-२० च्याम्पियनसिपः नेपाल र बंगलादेशबीच उपाधि भीडन्त आज
काठमाडौं – नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज २० वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।
पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ। नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो।
सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो।
नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले मङ्गलबार फाइनलअघिको पत्रकार सम्मेलनमा फाइनल खेल्ने दुवै टिम राम्रो भएकाले खेल तिस्पर्धात्मक हुने बताए। ‘बङ्गलादेशले गत विजेता भारतलाई हराएर फाइनलमा स्थान बनाएको छ। त्यसैले बङ्गलादेशले उच्च मनोबलमा खेल्ने छ तर हामी तयार छौँ। हाम्रो लक्ष्य उपाधि जित्नु हो र खेलाडीले रणनीतिअनुरूप खेलेमा हाम्रो जित पक्का छ,’ प्रशिक्षक श्रेष्ठले भने। यस प्रतियोगितामा नेपाल र बङ्गलादेश एकै समूहमा परेका थिए। समूह चरणमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो।
नेपाली टिमका कप्तान कुशल देउवाले फाइनलका लागि आफू र आफ्नो टिम तयार भएको बताए। उनले फाइनलमा विपक्षीको कमीकमजोरीलाई अध्ययन गरेर र आफ्नो कमीकजमोरी सुधारेर राम्रो खेल खेल्ने प्रतिबद्धता जनाए।
बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनलमा आफू नेपालको तेज फरवार्ड लाइनबाट चिन्तित भएको बताए। प्रशिक्षक हकले भने, ‘नेपालका अग्रपङ्क्तिका खेलाडीहरू ‘स्पिडी’ छन्, हामीले उनीहरूलाई रोक्न विशेष ध्यान दिएका छौँ।’
यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बङ्गलादेश उपविजेता बनेको थियो।