प्रस्तावित राजदूतविरुद्धको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान


काठमाडौँ – प्रस्तावित राजदूतविरुद्धको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार मंगलबार बिहान ११ बजे बैठक राखिएको छ ।

बैठक सिंहदरवारस्थित काठघर नम्बर २ मा बस्नेछ । बैठकको कार्यसूचीमा ‘ विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण गर्ने’ रहेको छ ।

गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । निर्धारित समयभित्र ९ वटा उजुरी परेको संसदीय सचिवालयले जनाएको छ । केही व्यक्तिगत र केही सामूहिक उजुरी परेको छ । उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि प्रश्न समेत उठाइएको छ ।

राजदूत सिफारिस गर्दा किन समावेशीतालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका पनि उजुरी परेका छन् । गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । तर, परराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको थियो ।

अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेको छैन ।समितिले प्राप्त १७ जना प्रस्तवित राजदूत उपर उजुरी आह्वान गरेको हो ।

प्रतिक्रिया