रेलिङ राख्ने क्रममा करेन्ट लागेर १ काे मृत्यु, एक घाइते


गोरखा – गोरखा नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। एक घाइते भएका छन्।

गोरखा-६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा बिहीबार रेलिङ राख्ने क्रममा करेन्ट लागेर वडा नं.९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

भारत घर भई गोरखा नगरपालिका-८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन्। एपोलो अस्पतालमा उनको उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए।

छतमा काम गरिरहेका वेला फलामको रडले नजिकै रहेको बिजुलीको नांगो तारमा छोइँदा दुवैलाई करेन्ट लागेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया