उपत्यकाका नदीहरूमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल


काठमाडौँ – उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीहरूमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै बागमती, विष्णुमतीलगायतका नदीहरूमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालिक र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन् ।

सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीहरूलाई पुनर्जीवन दिने, काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफललाई तीव्रता दिएका छन् ।

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्ने लगायतका विषयमा विज्ञहरूसँग राय लिइएको बताए ।

सो क्रममा विज्ञहरूले सुख्खा याममा काठमाडौँका नदीहरूमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ(आफ्नो राय राखेका छन् । केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रूपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका छन् भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने तर्क गरेका छन् ।

पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने लगायतका विषयमा विज्ञहरूसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए ।

प्रतिक्रिया