सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान


धनगढी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिए ।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको हो ।

नेकपा एमालेसँगको सहमतिअनुसार सुदूरमा नेपाली कांग्रेसले मुख्यमन्त्री पद लिने छ । त्यहाँ पूर्वमुख्यमन्त्री कमल शाह र सांसद प्रकाश देउवासहितका नेताहरू मुख्यमन्त्रीको दौडमा छन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

विश्वासको मत लिन डाकिएको बैठकमा सोडारीले सम्बोधन गरेर राजीनामा दिएका हुन् । नेकपा एमालेले असार २० गते सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

 

 

प्रतिक्रिया