

उच्च शिक्षाका लागि पहिलो रोजाइ बन्यो जापान, ११ महिनामै बाहिरियो १ खर्ब १७ अर्ब

काठमाडाैं- नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेश जाने रकम पनि बढ्दै गएको पाइएकाे छ ।
शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी सवा खर्ब रूपियाँको हाराहरीमा रकम विदेशीएको देखिन्छ ।
आर्थिक बर्ष २०८०/८१ मा मात्र विदेशमा पढ्न जानका लागि एक लाख १२ हजार २६९ विद्यार्थीले सरकारी स्वीकृति अर्थात ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ् अनुसार नेपालबाट विदेशिने विद्यार्थीको संख्या बढेसँगै बाहिरिने रकम पनि बढ्दै गएको छ । ०८०/८१ को जेठ मसान्तसम्ममा अर्थात ११ महिनामा विदेश अध्ययनमा जाने विद्यार्थीबाट एक खर्ब १७ अर्ब ५८ लाख बिदेसिएको राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो आव ०७९/८० मा एक खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो ।
विद्यार्थीको रोजाइमा पहिलाे राेजाइ जापान बनेकाे छ । आव ०८०/८१ मा जापानका लागि ३४ हजार ७३१ जनाले अनुमति लिएका छन् । यस्तै, क्यानडाका लागि १५ हजार ९८२, अस्ट्रेलियामा १४ हजार ३७२, अमेरिकामा ११ हजार २६१, डेनमार्कमा १ हजार ७५४, भारतमा २ हजार ३८९ र कोरियामा ६ हजार ८८९ पुगेका छन् ।

