राष्ट्रसेवकहरू भ्रष्टाचारमा चुर्लुम्म, शाखा अधिकृतविरूद्ध सबैभन्दा बढी मुद्दा


काठमाडाैं- राष्ट्रसेवकको दर्जा पाएका  निजामती कर्मचारीहरूले भ्रष्टाचार गर्न कम गरेका छैनन् । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न दर्जा र सेवा समूहका गरी ५ सय २० जना कर्मचारीले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विगत एक वर्षमा विभिन्न भ्रष्टाचार प्रकरणमा सहभागी भएका ५ सय २० जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले बताए । यसमा सबैभन्दा बढी शाखाअधिकृत तहका १ सय ६७ जना रहेका छन् ।

अख्तियारले गत आवमा निजामती प्रशासनको सर्वोच्च पदमा रहेका मुख्य सचिवविरुद्ध नै पहिलोपटक भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुख्य सचिवलगायत अन्य १२ जना विशिष्ट श्रेणीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले गत वर्ष सहसचिवस्तरका २५, उपसचिवस्तरका ७२, लेखापाल ५४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसै गरी भ्रष्टाचार मुद्दा दायर गरिएकामा नायब सुुब्बास्तरका १४४, खरिदार स्तरका ३१, जुनियर कर्मचारी १३ र कार्यालय सहयोगी २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा सबैभन्दा बढी प्रशासन सेवाका २ सय ४६ जना रहेका छन् ।

यसै गरी प्राविधिक सेवाका १ सय २ र अन्य सेवा समूहका १ सय ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । गत वर्ष भ्रष्टाचार मुद्दा दायर गरिएकाहरूमा शिक्षक ३१, नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरीका १ जना रहेका छन् ।

 

प्रतिक्रिया