खुकुरी देखाई लुटपाट गर्ने एकजना पक्राउ


काठमाडौं – काठमाडौंको दहचोक क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ घर भई कंलकीमा बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् ।

दुईथान खुकुरी र गरगहनासहित शनिबार कंलकी क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।

केही व्यक्तिको समूहले चन्द्रागिरि नगरपालिका–१, दहचोक, कालुपाँडेमा खुकुरी देखाई लुटपाट भयो भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो ।

एसपी अधिकारीका अनुसार, लुटपाट गरी तीनजनाको समूह नागार्जुनको हर्सनटार हुँदै कंलकीतर्फ आउँदै थियो ।

प्रहरीलाई देख्नासाथ उनीहरू भागेका थिए । एकजनालाई भने पक्राउ गर्न सफल भएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया