कृष्णमान प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाईयो
काठमाडौँ – संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ ।
निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । सुनुवाइ समितिमा काँग्रेसका तर्फबाट सदस्य रहेका श्यामकुमार घिमिरेले बैठक बोलाएको पुष्टि गरे ।
२ असारमा संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो ।
यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् । अब सोमबारको बैठकले उनको अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने एक सांसदले बताए ।