वाइडबडी सी-चेक प्रकरणमा कारबाही भोगेका व्यक्तिलाई सौर्य एयरलाइन्स दुर्घटना छानबिनको जिम्मेवारी


काठमाडौं-  गत असार ११ गते वाइडबडी जहाज सी–चेक(विस्तृत मर्मत सम्भार)मा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीका कारण नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना निलम्बनमा परेका थिए ।

सी–चेकका लागि बिना अनुमति वाइडबडी जहाज दुबई हुँदै इटाली पुर्‍याएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका अध्यक्ष  अधिकारी, अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको थियो । त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको थियो ।

तर, सी-चेक प्रकरणमा कारबाही भोगिसकेका दिपु ज्वारचनलाई हिजो(बुधबार) भएको सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन समितिमा राखिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरेको छानबिन समितिमा उनीलाई राखिएको हो ।

यद्यपि ग्राउन्ड क्लास लिने सर्तमा ज्वाचनमाथिको कारबाही फुकुवा भइसकेको छ । तर पनि नागरिक उड्डयन प्राधिकरणको मापदण्ड विपरीत वाइडबडी जहाजलाई सी-चेकका लागि इटाली पुर्याउदै गम्भीर लापरबाही गर्ने व्यक्तिलाई नै छानबिन समितिमा राखिएको पाइएको छ ।

समितिमा ज्वारचनबाहेक श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

हिजो बिहान बिहान ११:११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको जहाज विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको निधन भएको छ भने पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उक्त विमान पनि सी- चेकका लागि पोखरा लगिदै थियो ।

प्रतिक्रिया