
‘बाई बाई सुगर’को भरपर्दा पूर्वमन्त्री सिआइबीको शरणमा !
काठमाडौं – ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जालमा विभिन्न विज्ञापन आउने गरेका छन्।
विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडरलगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै धेरै फेसबुकमा विज्ञापन भेटिन्छन्।
जडिबुटीको मिश्रण रहेका त्यस्ता आयुर्वेदिक औषधी प्रयोग गरे ‘लाइफटाइम’ सुगर ठिक हुने भन्दै विज्ञापन गरिरहेका पाइन्छन्।
यस्तै विज्ञापनको भर परेर आयुर्वेदिक औषधी सेवन गर्दा गण्डकी प्रदेशका एक जना पूर्वमन्त्रीले सास्ती खेप्नु परेको छ।
‘बाई बाई सुगर’ नामको आयुर्वेदिक औषधीजन्य क्याप्सुलको भरपर्दा उनले शारीरिक मात्रै होइन मानसिक यातनासमेत खेप्नु पर्यो।
बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै यतिबेला प्रहरीको शरणमा परेका छन्।
उनी उक्त क्याप्सुल बेच्ने नेपाली कम्पनीलाई कारबाही माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका हुन्।
गोपनीयतालाई मध्यनजर गर्दै यहाँ ती पूर्वमन्त्रीको पहिचान खुलाइएको छैन।
ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती मन्त्रीले तीन महिना ‘बाई बाई सुगर’ क्याप्सुल सेवन गरे। तर, सुगर नियन्त्रण हुनुको सट्टा बढेको बढै गरेपछि उनी सशंकित भए।
चिकित्सककहाँ पुगेपछि उनले थाहा पाए ‘बाई बाई सुगर’को भर पर्दा आफ्नो स्वास्थ्यमा झन्डै गम्भीर समस्या निम्तिन लागेको।
त्यसपछि उनी प्रहरीकहाँ पुगेर निवेदन दिएका छन्। बोगटीका अनुसार ‘बाई बाई सुगर’ बेचबिखन गर्ने कम्पनी काठमाडौं सोह्रखुट्टेमा रहेको पत्ता लागेको छ।
‘त्यसका सञ्चालकलाई हामीले बोलाएका छौं, उनी आइसकेका छैनन्,’ बोगटीले भने।
उनका अनुसार यसको फेसबुक पेज देखिएको छ। ठेगाना काठमाडौं लेखिएको छ। त्यहाँ ‘बाई बाई सुगर’को विज्ञापनहरू पोष्ट गरिएको छ। अमेरिकामा बनेको र विश्वप्रसिद्ध रहेकाले सुगर निर्मूल हुने भन्दै इन्सुलिन लगाइरहन नपर्ने भनी आश्वस्त पारिएको छ।
तीन महिना लगातार सेवन गरे सदाका लागि सुगरबाट मुक्ति पाइने प्रचार सामग्री त्यहाँ राखिएको छ।
उक्त क्याप्सुल अमेरिकामा बने/नबनेकोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन। बोगटीले यसको सत्यता परीक्षणका लागि अनुसन्धान भइरहेको बताए।
बोगटीले सामाजिक सञ्जालमा पोस्ट गरिएका विज्ञापन हेरेर आयुर्वेदिक औषधी सेवन गर्दा विचार पुर्याउनु पर्ने देखिएको बताए।
उनले चिकित्सकको परामर्श र औषधी कम्पनीको आधिकारिकता परीक्षण गरेर मात्रै यस्ता औषधी सेवन गर्न सुझाव दिए।



कागजपत्र |
