लमजुङमा ढाई करोड लागतमा १०८ फिट अग्लो महादेवको मूर्ति


लमजुङ- लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ ।

कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महोदेवको मूर्ति निर्माण गरेको हो ।

समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान् गणेश, विष्णु, शिवको वाहन साँडे (बसाह) को मूर्तिसमेत निर्माण गरिएको जानकारी दिए ।

काठमाडौं र पोखराबाट कालीगढ ल्याएर मूर्ति निर्माण गरिएको उनले सुनाए। त्यसका लागि दुई करोड ५० लाख खर्च भएको उनले जानकारी दि ए। मूर्तिमा रङरोगन सम्पन्न भएको छ। सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ ।

धाराका लागि पर्खाल निर्माण सम्पन्न भइसकेको छ। राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ। हालसम्म दुई किलोमिटरमा पाइप विच्छ्याउने काम सम्पन्न भएको छ भने धारा निर्माणस्थल नजिकै एक लाख लिटर भन्दाबढी पानी अट्ने एउटा पानी ट्याङ्की निर्माण सम्पन्न भएको छ ।

समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको हो । धारा तथा शिवलिङ्ग व्यक्तिको नाम र पितृहरुको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार एक सय ११ तिर्नुपर्ने समितिले जनाएको छ। बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ ।

त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख बढी चन्दा सङ्कलन भएको छ । यहाँ मर्स्याङ्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् ।

डुम्रे–बेसीशहर सडक नजिकै तथा लमजुङ/तनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।

यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा एक सय आठ धारा र शिवलिङ्ग निर्माणले धार्मिक रुपमा मात्र नभई पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

प्रतिक्रिया