त्रिवेणीमा भेटिएका थप दुई जनाको शवको सनाखत गरिँदै


काठमाडौँ – पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको छ ।

ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जना पुरुषको शव भेटिएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

दुईवटा शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको छ । शवको सनाखत र पुष्टि गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले जानकारी दिए ।

शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।

यसअघि बसमा सवार ६ जना यात्रुको शव फेला परेको थियो । भेटिएका मध्ये ३ जनाको शव आफन्तले बुझेका छन् । अहिलेसम्म सनाखत भएकाहरूमा विकाश परियार, रामकुमार माझी, ऋषिपाल शाह, जय प्रकश ठाकुर र सजाद अन्सारी छन् ।

प्रतिक्रिया