सिमलताल पहिरो: ड्रोन, सोनारा क्यामेरालगायत सशस्त्रका एक सय ४९ जना परिचालन


काठमाडौं- चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजीका लागि मात्र एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएको उनले जानकारी दिए ।

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भएपनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरेका छन् ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया