ड्युटीको प्रहरीलाई चड्कन लगाउँदा कानुन व्यवसायीको आँखामुनी घाउ !

दुवै पक्ष न्यायको खोजीमा...


काठमाडौं – आइतबार मध्यान्ह काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेटमा अचम्मको दृश्य देखियो ।

बर्दीमा रहेका प्रहरी र कानुन व्यवसायीको औपचारिक पोशाकमा रहेकी एक कानुन व्यवसायीबीच विवाद हुन पुग्यो । विवाद बढ्दै जाँदा कानुन व्यवसायीले बर्दीमा ड्युटीमा रहेका प्रहरीमाथि चड्कन लगाइन् । त्यसपछि प्रहरीले ती कानुन व्यवसायीलाई हातले हुत्याइदिँदा उनको आँखाको मुनीपट्टी रगत नै बग्ने गरी घाउ भएको पनि देखियो ।

सधैंजस्तो भिड भइराख्ने जिल्ला अदालतमा देखिएको सो दृश्य अस्वाभाविक थियो ।

प्रहरीले जवानले आफूले ड्युटी निर्वाहको क्रममा ती कानुन व्यवसायीले जर्बजस्ती सर्वसाधारणसहित भित्र पस्न गरेको प्रयासका कारण विवाद भएको र एक्कासी आफूलाई चड्कन हानेको भन्दै प्रहरी मै उजुरी गरेका छन् ।

ती प्रहरी जवानका अनुसार असार २३ गते आइतबार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी नानी थापाले आफूलाई गाली-गलौजसँगै हातपातसमेत गरेको प्रहरी जवान छिनालको आरोप छ ।

आफ्ना क्लाइन्ट लिएर अदालतमा प्रवेश गर्न लागेकी थापालाई आफूले रोकेको त्यसैलाई लिएर गालामा चड्कन हानेको छिनालले आरोप लगाएका छन् । ‘यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिक नछिराउनु भन्ने आदेश छ भनेपछि मलाई उनले एक्कासी थप्पड हानिन्,’ छिनालको आरोप छ ।

छिनालले पहिलो थप्पड खाएपछि थापाले पुनः अर्को थप्पड हान्न लाग्दा प्रतिरक्षाको क्रममा धकेल्दा नङले थापाको गालामा लागेको समेत जाहेरीमा उल्लेख गरेका छन् ।

यता काठमाडौं जिल्ला अदालत बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारीले घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनका माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् कानुन व्यवसायीमाथि भएको कुटपिटको यसप्रकारको घटनालाई वास्तविक तथ्यभन्दा फरक तरिकाले अतिरञ्जित गरी घटनाको वास्तविक तथ्यलाई नलुकाउन माग गर्दै सबै कानुन व्यवसायीलाई कानुन व्यवसायीको न्यायका निम्ति एकजुट हुन अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया