पहिरोले देशभर २७ राजमार्ग अवरुद्ध, ३६ करोड रुपैयाँभन्दा बढी क्षति


काठमाडौं– देशभर बाढी र पहिरोका कारण २७ वटा सडक अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण ठूला तथा साना सडक तथा राजमार्ग/लोकमार्ग अवरुद्ध बनेका हुन् ।

अवरुद्ध हुनेमा अधिकांश ठूला राजमार्ग खण्डका सडक छन् । बाढी र पहिरोका कारण अवरुद्ध हुनेमा कोशी राजमार्गअन्तर्गत संखुवासभाको समाटार, डुम्रे–बेंशीसहर–चामे सडकखण्डमा लमजुङको तिमाङ, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकखण्डअन्तर्गत गुल्मीको कनौटा, सोही करिडोरअन्तर्गत म्याग्दीको बैशंरी र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी भन्ने स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गैराथोक, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको गगनेखोला, कालीकोटको हुल्म, कालिकोटको छेका, कान्तिपथ राजपथअन्तर्गत ललितपुरको कार्कीबास, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको कुडुले, मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउछे मनेवा र भेटेडार–रबि–राँके सडकअन्तर्गत धनकुटाको ओख्रे भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।

त्यस्तैगरी, तानसेन–रिडी–कोरलाअन्र्तगत बागलुङको दब्लाङभीर, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको सुमनाम बेँशी, तानसेन–रिडी–कोरलाअन्तर्गत मुस्ताङको मार्फाखोला, सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको चिउरी, मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुर, मध्यपहाडी राजमार्गअन्तर्गत डडेल्धुराको अनारखोली, राप्ती राजमार्गअन्तर्गत सल्यानको डीबी र मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरलगायतका धेरै स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध पुर्‍याएको छ ।

सडक विभागका अनुसार साना ठूला गरी अन्य २०३ वटा सडकहरु अवरुद्ध बनेका छन् । त्यस्तै, १ बेलिबृज र ४ वटा प्रबलित सिमेन्ट कङ्क्रिट (आरसीसी) पुलमा पनि बाढी र पहिरोका कारण क्षति पुगेको छ ।  बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोडका क्षति र पुल भत्किँदा २६ करोडभन्दा बढीको क्षति पुगेको विभागले अनुमान गरेकाे छ ।

12

प्रतिक्रिया