बाढी–पहिरोले देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध (विवरणसहित)


काठमाडौँ – शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज (शनिबार) दिउँसो सार्वजनिक गरेको विवरण अनुसार कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ स्थित दक्षिण कोशी राजमार्ग र भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । साथै यो सडक खण्ड वर्षाभरि नखुल्ने पनि प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा, मकवानपुर, सिन्धुली, काभ्रे, मनाङ, म्याग्दी, लमजुङ, स्याङ्जा, तनहुँ, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ, बझाङ, दार्चुला र अछामका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक, सिन्धुलीको सुनकोसी गाउँपालिका २ मा गएको पहिरोका कारण बिपी राजमार्ग र काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

मनाङको चामेमा बाढीका कारण चामे–वेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने तनहुँको आँबुखैरेनीमा पहिरोका कारण पृथ्वी राजमार्गमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया