कालीगण्डकी र सेतीखोला बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा


पर्वत । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ । बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६, सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ स्थित विश्वको ठूलो शालिग्राम शिला पूर्ण रूपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिए ।

कालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् । बजार उच्च जोखिममा रहेको उनले बताए ।

मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले जानकारी दिए । उनका अनुसार, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला डुबानको जोखिममा परेका हुन् ।

वर्षा नरोकिए केही बेरमा बाढी बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताए ।

शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको परालुलीले बताए ।

यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका २०० बढी व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।

विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । वि.सं. २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए ।

स्थानीय प्रहरी चौकीका इन्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । रासस

 

प्रतिक्रिया