

तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन् सामिआ

दारेसलाम – तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छिन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् ।
तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी हुन् ।
हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छिन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।
तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उहाँको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने छिन् ।

