सिडियोहरूलाई जिल्ला नछाड्न गृहको निर्देशन


काठमाडौं – गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरु (सिडियो)लाई निर्देशन दिएको छ ।

विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया