माओवादी नेताहरु भन्छन्- प्रचण्डलाई नारायणकाजी र वर्षमानले डुबाए


काठमाडौं – सत्ता समिरकणमा अप्रत्यासित फेरबदल आएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीमा दिने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले गत फागुनमा काँग्रेससँगको सहकार्य तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए ।

त्यतिबेला उनले अब विगतको जस्तो नराम्रो सम्बन्ध एमालेसँग नहुने बताए । तर चार महिना नपुग्दै नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भयो ।

एक्लिए प्रचण्ड – माओवादी नेताहरुका अनुसार प्रचण्ड कांग्रेससँगको सहकार्यलाई नै निरन्तरता दिन चाहन्थे । तर देउवा प्रचण्डको दुरी बढाउने काममा माओवादी नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लागे ।

उनीहरुले नै एमालेसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । नेताहरु भन्छन्,‘उनीहरुले अध्यक्षलाई एमालेले अब धोका दिँदैन भन्ने विश्वास दिलाए । अध्यक्ष त्यहीँ फस्नुभयो ।’

नेताहरुका अनुसार अब माओवादी गम्भीर संकटमा फसेको छ । बलियो प्रतिपक्षीको भूमिकामा पनि माओवादी देखिने सम्भावना कम छ ।

प्रचण्डले विभिन्न आन्तरिक छलफलमा एमालेसँगको सहकार्यमा दुःख पाइएको समेत बताउँदै आएका थिए ।

श्रेष्ठ र पुनलाई पार्टीभित्र चीननिकटको आरोप लाग्दै आएको छ । पछिल्लो समय प्रचण्डको विश्वासपात्रको रुपमा वर्षमान नै देखिएका थिए ।

आजमात्रै प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्ने तयारी गरेका थिए । जसमा माओवादीका श्रेष्ठ र पुन यथावत रहने र अरुलाई हटाउने तयारी थियो । तर तत्कालका लागि प्रधानमन्त्रीसँगै सातवटै प्रदेशको सत्ताबाट माओवादी बाहिरिने सम्भावना बढेको छ ।

गएरातिको सहमतीअनुसार एमाले र काँग्रेसबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया