धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि समिति गठन, सदस्य पुरानै


काठमाडौं – धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको पुरानो प्रक्रिया रद्द भएपछि सरकारले सोही कामका लागि नयाँ समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य हुन्छन् भने अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त भएका छन् ।

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा दुईजना उम्मेदवार मात्रै उपस्थित भएपछि यसअघिको सिफारिस समितिले त्यसको प्रक्रिया नै पूरै रद्द गरेको थियो ।

अब नयाँ सिफारिस समितिले शुरुदेखि पुनः प्रक्रिया दोहोर्‍याउने छ । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ ।

धितोपत्र बजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर ६ महिनासम्म पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

 

प्रतिक्रिया