अर्थतन्त्र ‘स्लो डाउन’ हुनुमा सहकारी समस्या प्रमुख कारण : गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले सहकारीमा देखिएका समस्या समाधान गर्न ढिला भइसकेको बताएका छन् । उनले ग्रामीण क्षेत्रमा बैंक र सहकारी छुट्टै भने पनि कारोबारसँग अन्तरसम्बन्ध रहेको बताए । उनले बैंकहरूमा खराब कर्जा बढ्नुको कारण प्रभावकारी नियमन र रिफर्म भएको दाबी गरे ।

गभर्नर अधिकारीले बैंकहरूलाई पारदर्शी बनाउनको लागि बैंकहरूको खराब कर्जा बाहिर ल्याउन आवश्यक रहेको बताएका छन् । उनले अर्थतन्त्रमा मन्दी र राष्ट्र बैंकको प्रभावकारी नियमन लगायतको असर बैंकको खराब कर्जामा परेको बताए । उनले पछिल्लो समय अर्थतन्त्र स्लो डाउन हुनुमा सहकारीको ठूलो भूमिका रहेको दाबी गरे ।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा सहकारीको भूमिका धेरै ठूलो रहेको भन्दै राज्यले तीन खम्बे अर्थनीति लिएसँगै सर्वसाधारणको विश्वास सहकारीप्रति बढेको बताए । उनले स्वनियमन र अनुशासनमा चल्नुपर्ने सहकारीहरू बैंक जस्तै गरी अगाडि बढ्दा समस्या भएको बताए । उनले राष्ट्र बैंकले ३० वर्षअगाडि ठूला सहकारीको नियमन हुनुपर्ने भन्दै आएको बताए । उनले सरकारले सहकारीलाई नियमन र सुपरिवेक्षण गर्ने छुट्टै विशिष्टिकृत निकाय बनाउन बहस भए पनि अहिलेसम्म बन्न नसक्दा समस्याहरू बढ्दै गएको बताए ।

प्रतिक्रिया