अफगानिस्तानद्वारा अस्ट्रेलिया पराजित


काठमाडौं — आईसीसी टी–२० विश्वकपको सुपर ८ मा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको छ ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १९.२ ओभरमा १२७ समेटिएपछि अफगानिस्तान २१ रनले विजयी भएको हो ।

अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा १४८ रन बनाएपछि अस्ट्रेलिया उक्त लक्ष्य पछ्याउने क्रममा १२७ रनमा समेटिएको हो ।

पहिले ब्याटिङको गरेको अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमतुल्लाह गुरबाजले ६० रनको योगदान गरे । उनले ४९ बलमा चार छक्का र चार चौका पनि प्रहार गरे ।

अर्का ओपनर इब्राहिम जदरानले पनि अर्धशतकीय पाली खेले । उनले ४८ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए । यी दुईले ओपनिङ विकेटका लागि एक सय १८ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मार्कुस स्टोइनिसले पनि एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि चौथो नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ रनको योगदान गरे । उनले ४१ बलमा तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

अस्ट्रेलियाका अन्य ब्याट्सम्यान अफगानिस्तानका बलरसामु निरीह देखिए । कप्तान मिचेल मार्सले १२ र मार्कुस स्टोइनिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका बलर गुलबदिन नाइबले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन उल हकले पनि तीन विकेट हात पारे । उनले पनि चार ओभरमा २० रन खर्चिए ।

प्रतिक्रिया