राजजनीति भाषणका लागि होईन, विकासका लागि हुनुपर्छ : विनोद चौधरी


काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्ने बताएका छन् ।

काँग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले विकासका लागि राजनीति रोजेको प्रस्ट पाका हुन् ।

शनिबार नवलपरासीमा स्वर्गीय पृथ्वीराज कँडेल बसपार्कको उद्घाटन एवम् सालिक अनावरण कार्यक्रममा उनले भने, ‘म निर्वाचित भइसकेपछि निरन्तर यो क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लागेको छु । यहाँको विकासबाहेक मेरो अरु कुनै स्वार्थ छैन ।’

उनले डेढ वर्षको बीचमा आफूले गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारीसमेत गराएका थिए । वर्षायाममा बर्सेनि डुबानको समस्या भोग्दै आएको नवलपरासीमा गण्डक परियोजनाअन्तर्गत डुबानको समस्या अन्त्य गर्ने गरी काम भइरहेको उनले बताए ।

‘यो परियोजनाको काम सुरु भइसकेको छ । यो क्षेत्रमा डुबानका कारण वर्षौँदेखि हजारौँ बिघामा लगाइएको बाली नष्ट हुने गरेको छ । हजारौँ किसान घरबारविहीन हुने गरेका छन् । यो विडम्बनाको अब अन्त्य हुनेछ भन्ने हाम्रो विश्वास छ’, सांसद चौधरीले भने, ‘यसको डीपीआरमात्रै तयार भएको छैन । यसको कार्यान्वयन सुरु भइसकेको छ । हाम्रो निरन्तरको पहलमा सरकारले बजेटमा समेत राखेको छ ।’

उनले गण्डक परियोजनाले अब सार्थकता पाउने विश्वास गरे । दुवै देशबाट डुबान र कटान नियन्त्रणका लागि काम भइरहेको उल्लेख गर्दै सांसद चौधरीले सिँचाइको समस्या पनि समाधान हुने बताए ।

काँग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी रहेको कार्यक्रममा सांसद चौधरीले अबको राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताए ।

बर्सेनि हुने गरेको मलको अभाव हटाउन आफूले सुरुदेखि नै सरकारसँग संवाद गरिरहेको बताउँदै सांसद चौधरीले निर्वाचन क्षेत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चितताका लागि काम भइरहेको जनाए ।

उनले साना तथा मझौला उद्योगको स्थापना, ट्रमा सेन्टर निर्माण, चिसापानी अस्पतालको स्तरोन्नति, युवालाई प्राविधिक शिक्षालगायतका दर्जनौँ कार्य भइरहेको बताए ।

स्वर्गीय पृथ्वीराज कँडेल नेपाली काँग्रेसका तर्फबाट २०१५ सालको आमनिर्वाचनमा निर्वाचित जनप्रतिनिधि थिए । उनले ६५ वर्षअघि नवलपरासीको महेशपुरमा बसपार्क निर्माण गर्ने परिकल्पना गरेका थिए । त्यसका लागि जग्गाको व्यवस्थापन पनि गरेका थिए । उनका छोरा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्र कँडेलको पहलमा बसपार्क निर्माण सम्भव भएको हो ।

नवलपरासी जिल्लाकै पहिलो जन निर्वाचित जनप्रतिनिधि स्वर्गीय पृथ्वीराज कँडेलको सम्मानका लागि उनको नाममा बसपार्क निर्माण गरिनुका साथै बसपार्क परिसरमा अर्धकदको सालिकको अनावरण गरिएको छ ।

प्रतिक्रिया